जलविधुतको हव दोलखाका युवा व्यवसायि पोखरेल उर्जा उत्पादकको अन्तराष्ट्रिय फोरममा
जिरी(दोलखा) । जलविद्युत क्षेत्रमा दोलखाले गौरवपूर्ण इतिहास रच्च सफल भएको छ ।
राष्ट्रिय गौरवको आयोजनासम्म निर्माण भएको दोलखाले जलविद्युत क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा इतिहास रचन सफल भएको हो । दोलखालाई जलविद्युतको हवको रुपमा चिनिन्छ । अहिले दोलखाकै एक युवा उद्यमीले जलविद्युतको अन्तराष्ट्रिय फोरममा सहभागी हुने सुवर्ण अवसर प्राप्त गरेका छन् । हालै मात्रै जिल्लाको तामाकोशी गाउँपालिका स्थायी घर भएका युवा जलविद्युत उद्यमी सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् । बिजबेलका संस्थापक समेत रहेका उनी मंगलबार मात्रै वर्ष २०२३ देखि २५ सम्मका लागि आइएचएको उपाध्यक्ष निर्वाचित भएका हुन् । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन् । विश्व जलविद्युत मञ्चमा दोलखाको मात्रै नभई नेपालकै यो गौरवपूर्ण उपलब्धी हो । कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो ।
अन्तर्राष्ट्रिय जलविद्युत् संघको उपाध्यक्ष निर्वाचित भएपछि पोखरेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जलविद्युत् लगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । हिजो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राखेको बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भई सञ्चालनमा रहेको छ । साथै सरकारले तामाकोशी पाँचौंको पनि छिट्टै निर्माण प्रकृया थाल्नेगरी बजेटको व्यवस्थापन गरेको छ । यसअघि पनि साना–ठूला गरी जिल्लामा धेरै जलविद्युत आयोजनाहरु निर्माण भएका छन् । अझै ३ वटा जलविद्युत आयोजना निर्माणको घोषणा भएको छ । विगु गाउँपालिकामा दुई वटा र गौरीशंकर गाउँपालिकामा एउटा जलविद्युत आयोजना थप हुने भएको हो ।
विगुमा ९९ दशमलव ८ मेगावट र ४० मेगावाटको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा गौरीशंकरमा ६ दशमलव २ मेगावटको लोवर खानी–बी आयोजना निर्माणको तयारी छ । दोलखामा जलविद्युत मात्रै नभएर जनशक्ति पनि उत्पादन भएको छ । यही जलविद्युत हवको जिल्लाका पोखरेलले अहिले इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनमा उपाध्यक्षको नेतृत्व लिने अवसर पाएका हुन् ।
Source: Hamro Update